२०८२ असोज २१, मङ्गलवार , ११:१०:०५ बजे

Sajhamanch
'

पानीजन्य रोगबाट बच्न र शुद्धीकरण गरेर पानी पिउन अनुरोध

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले निरन्तर वर्षा, बाढीपहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ ।

बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको विभागका उप–महानिर्देशक इन्जिनियर नारायणप्रसाद आचार्यले बताउनुभयो ।

विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बिरामीहरूलाई उच्च जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको उपमहानिर्देशक आचार्यले बताउनुभयो । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाढीपहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उहाँको आग्रह छ ।

मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसापिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ । यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रसस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानसमेत डाक्टरको आग्रह छ ।

मङ्गलवार, असोज २१, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर