२०८२ असोज २१, मङ्गलवार , १०:३६:०४ बजे

Sajhamanch
'

सगरमाथाको खुम्बु क्षेत्रमा असोज तेस्रो हप्तामै हिमपात

मङ्गलवार, असोज २१, २०८२

सोलुखुम्बु । हरेक वर्षको असोज अन्तिम हप्तामा हिउँ पर्ने सगरमाथा क्षेत्रमा यस वर्ष असोजको तेश्रो हप्तामै हिउँ परेको छ ।

सोलुखुप्बुको नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल हुने क्षेत्रमा हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ ।

यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् । अस्ति आइतवार बिहानदेखि शुरू भएको ठूलो वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो । दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भास्सिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरले हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएको र मानवीय क्षति नभएको बताउनुभयो ।

मङ्गलवार, असोज २१, २०८२ | मिडियाबाट साभार, समाज