२०८२ असोज १२, आइतवार , ०३:३९:०७ बजे

Sajhamanch
'

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

आइतवार, असोज १२, २०८२

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारगारका सात र केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको छ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताउनु भयो।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ। त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिनुभयो।

‘गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर एकाहरू छन्,’ उहाँले भन्नुभयो। प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण संकलन भइरहेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनु भयो।

सम्बन्धित खबर