
कञ्चनपुर । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।
नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन् ।
शुक्लाफाँटा निकुञ्ज कार्यालयको तथ्याङ्कानुसार निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा ३०८ जना विदेशी पर्यटक र ३५० जना सार्क मुलुकका पर्यटकले भ्रमण गरेका थिए भने ११ हजार ४८० जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रहे पनि महामारीपछि यहाँ पर्यटक आउन छाडेको बताउनु भयो । ‘कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ’, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताउनु भयो ।
कार्यालयको तथ्याङ्कानुसार आर्व २०७६–०७७ मा एक हजार ६०३ जनाले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७७–०७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ ।
त्यसैगरी, आव २०७८–०७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा सार्क मुलुकका ४५ जना र १०५ जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७९–०८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा १५८ जना विदेशी र १२१ जना सार्क मुलुकका छन् ।
यस्तै, आव २०८०–०८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । जसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०८१–०८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र १५२ सार्क मुलुकका पर्यटक छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उल्लेख्य रूपमा पर्यटक आउन नसकेको वाग्लेको भनाइ छ ।
नजिकै रहेको गड्डाचौकी नाकाबाट नेपाल आएका विदेशी पर्यटकसमेत यहाँ बस्दैनन् । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढे पनि यो नाकाबाट आउने पर्यटक पनि अन्यत्र जाने गरेका छन् । अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले गड्डाचौकी नाकाबाट आउने ८० प्रतिशत विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेको बताउनु भयो ।
अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर ्९८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन् ।
सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको यहाँका स्थानीय व्यवसायी बताउँछन् । शान्त वातावरण, ठूलो घाँसेमैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निमार्ण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तुमात्र नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन् ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् ।