२०८२ असोज १०, शुक्रवार , ०४:३७:२२ बजे

Sajhamanch
'

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

शुक्रवार, असोज १०, २०८२

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दशैँ खर्च जोहो गर्न थालेको झन्डै २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आउनुभएको छ ।

पछिल्लो पाँच वर्षयता भने आयातित रङ्गले घर पोत्ने चलन बढेपछि विकलाई दशैँ खर्च जोहो गर्न समस्या भएको छ । दशैँ आउनुभन्दा एक हप्ता अगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै गएको हो ।

‘एक दशकअघिसम्म दशैँका बेला झन्डै एक सय घरमा माटो पुर्‍याउने गरेको थिए, अहिले १५ घरमा पनि माटोको माग हुँदैन । हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको छ’, विकले भन्नुभयो, ‘जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाउन थाले । पहिले कमेरो लगाउने भित्तामा अहिले इनामेल र अरू रङ्ग लगाउन थालिएको छ । पहिले एकैदिनमा सात सयसम्म पनि कमाइ हुन्थ्यो, अहिले पाँच दिनमा पनि सात सय हुँदैन ।’

स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ अहिले झाडीले ढाकिएको सुनाउनुभयो । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले माटोले पोत्न छोडेको उहाँको भनाइ छ ।

‘माटो बेचेर दशैँका बेला १० देखि २० हजार रुपैयाँ कमाउने गरेकी थिएँ । पछिल्लो समय काम गर्न छोड्नुपर्ने अवस्था आयो । बसाइँसराइ बढ्यो । विकासको प्रभावले बजारका सामानले ठाउँ लिए’, सुनारले भन्नुभयो, ‘पहिलेजस्तो बारीबाट रातोमाटो ल्याउने अवस्था रहेन । अहिले गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थाले । गाउँमा परम्परागत पहिचान हरायो, हाम्रो आम्दानी गुम्यो ।’

विगतमा रातोमाटो र सेतो कमेरोमाटोले घर पोतिनु गाउँको मौलिकता नै थियो । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटोले घर पोत्न चलन हराउँदै गएको छ ।

शुक्रवार, असोज १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर