२०८२ असोज १०, शुक्रवार , ०२:५९:१२ बजे

Sajhamanch
'

राजनीतिक पहुँचका आधारमा रोकिएका फाइल खुल्छन् : गृहमन्त्री अर्याल

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने बताउनुभएको छ । आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारसँग बोल्दै उहाँले राजनीतिक ‘कनेक्शन’ का आधारमा रोकिएका अनुसन्धानको ‘ब्रेक थ्रु’ हुने बताउनुभयो ।

गृहमन्त्री अर्यालले राजनीतिक पहुँचका भरमा सुशासनमा भइरहेको अवरोध खुल्नेसमेत दाबी गर्नुभयो । उहाँले विगतमा कतिपय अपराध अनुसन्धानमा, कतिपय वित्तीय अपराध अनुसन्धानमा, भ्रष्टाचारका विषयवस्तुमा भइरहेको अवरोध अब फुकाउनुपर्ने र त्यसै अनुसार निर्देशन दिएको बताउनुभयो ।

अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने र रोकिएका कुनै विषयवस्तु छन् भन्ने त्यसलाई तुरुन्त अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

गृहमन्त्री अर्यालले शान्ति, सुरक्षा र सुशासन कायम गर्दै तोकिएको मिति आउँदो फागुन २१ गते चुनाव सम्पन्न गर्न पनि राजनीतिक पहुँचका फाइल खोल्नुपर्ने बताउनुभयो । गएको भदौ २४ गते भएको आन्दोलनका क्रममा काठमाण्डौ महाराजगञ्जमा रहेको सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो ।

सम्बन्धित खबर