
काठमाडौं । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गएराति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक दुईतर्फी नै सञ्चालनमा आए पनि फेरि ठूलो ढुंगा झरेको कारण एकतर्फी सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
सडक सञ्चालन भएसँगै रोकिएका सयौँ गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भैरहेकाले लामो जाम भएको छ । यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।
पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ । मुग्लिन–नारायणगढ सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी गुड्ने गर्छन् । काठमाडौं ओहोरदोहोर गर्ने अरू मुख्य सडकहरुमा यतिबेला निर्वाध रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।