२०८२ असोज ९, बिहिवार , ०७:३९:५७ बजे

Sajhamanch
'

‘भदौ २४ को घटनाले लोकतन्त्रवादी दलहरुबीच सहकार्यमा जोड दिनुपर्ने आवश्यकता’

बुधवार, असोज ८, २०८२

झापा । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरुले आफ्नो पार्टीभित्र अटुट एकता कायम गर्दै लोकतन्त्रवादी दलहरुबीच सहकार्यमा जोड दिनुभएको छ ।

जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगलागीबाट नेपाली कांग्रेस र नेकपा एमालेको झापा जिल्ला पार्टी कार्यालयहरुमा पुगेको क्षतिको अवलोकन÷निरीक्षणपश्चात उपस्थित दुवै दलका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो भनाइ राख्नुभएको हो ।

संविधान मस्यौदा समितिका संयोजकसमेत रहनुभएका सिटौलाले जेन–जीको माग सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने, भ्रष्टाचारमुक्त सुशासन कायम हुनुपर्ने रहेकोमा २४ गते जेन–जीको मागभन्दा पृथक ढंगले देशभर एकै समयमा लुटपाट, हिंसा र आगजनीका त्रासदीपूर्ण घटना भएको बताउँदै उहाँले उक्त विध्वंशात्मक घटनाका योजनाकार र संलग्नहरु समयक्रमसँगै खुल्दै जाने बताउनुभयो ।

सो सन्दर्भमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी को भावना बमोजिम राजनीतिक दलहरुले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमालेका प्रेम गिरी र पूर्व सांसद हरिचरण शिवाकोटीले दलहरुको भावी कार्यक्रम कांग्रेस नेताहरुसँग मिलेर गर्ने बताउँदै के कसरी जान सकिन्छ भनेर सल्लाह माग्नु भएको थियो ।

आगलागी भएका कांग्रेस र एमालेको पार्टी कार्यालयमा पुगेको क्षतिको अवलोकनका क्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, झापा सभापति देउकुमार थेवे, प्रदेशसभा सांसद गोपाल तामाङ, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य मिरा खड्का, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले जिल्ला पार्टी कार्यालयका भौतिक संरचना तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । आगजनीबाट नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा १० लाख बढीको क्षति पुगेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

नेकपा एमाले झापाको कार्यालयमा आगजनीबाट पूर्ण रुपमा क्षति पुगेको र रकमको आंकलन भइनसकेको जनाइएको छ ।

सम्बन्धित खबर