
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ ।
तर सुक्खा पहिरो निकै ठूलो भएका कारण सडक आज नखुल्ने भएको छ । निरन्तर काम गर्न सकेमा भोलि दिउँसोसम्म सक्ने र सडक खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले झन्डै १२ देखि १४ हजार घन मिटर ढुङ्गामाटो सडकमा थुप्रिएको जानकारी दिनुभयो । माथिबाट तत्कालै ठूलो पहिरो झर्ने सम्भावना कम रहेपनि बेला बेला ढुङ्गा खस्ने गरेका कारण सफा गर्ने काम पनि जोखिमपूर्ण छ । प्राकृतिक विपद्को यो अवस्थामा सम्पूर्णलाई धैर्यता कायम गर्न कार्यालयले आग्रह गरेको छ ।
पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । मुग्लिन बजारबाट झन्डै दुई किलोमिटरमा रहेको इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुल नजिकै हिजो बेलुका ठुलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो ।