२०८२ असोज ७, मङ्गलवार , ०६:३६:०६ बजे

Sajhamanch
'

काँकरभिट्टा नाका : आयात बढ्यो, निर्यात घट्यो

मङ्गलवार, असोज ७, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु. आठ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. ६८ करोड आठ लाख अर्थात् नौ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु. सात अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको दुई महिनामा रु. तीन अर्ब छ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ ।

गत आवको सोही अवधिमा रु. तीन अर्ब ८६ करोड २८ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । उक्त निर्यात २० दशमलव ६९ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छ भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।

कार्यालयका अनुसार चालु आव २०८२/८३ को पहिलो दुई महिनामा आयात निर्यातबाट रु. दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा आठ दशमलव ६२ प्रतिशत अर्थात् रु. २० करोड ८६ लाख नौ हजारले बढी हो ।

सम्बन्धित खबर