
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८२ सालसम्मका लागि क्यान्डेलर सार्वजनिक गर्दै नेपाल र भारतबीच आउँदो कात्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी गराएको हो ।
क्यालेन्डर अनुसार नेपाली महिला टोली त्रिदेशीय मैत्रीपूर्ण फुटबलका लागि इन्डोनेशिया पनि जानेछ । घरेलु टोली इन्डोनेशिया, नेपाल र चाइनिज ताइपेईबीच आउँदो मङ्सिर ८ देखि १६ गतेसम्म मैत्रीपूर्ण फुटबल हुनेछ ।
यस्तै काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आउँदो मङ्सिर १९ देखि पुस ५ गतेसम्म साफ महिला क्लब च्याम्पियनशिप हुनेछ ।
क्यालेन्डर अनुसार नेपाली पुरुष टोलीले एएफसी एशियन कप छनोटमा आउँदो असोज २३ र २८ गते भियतनाम, मङ्सिर २ गते मलेशिया र चैत १७ गते लाओससँग खेल्ने तालिका छ ।
यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो पुस ९ देखि शुरू भएर असार २६ गतेसम्म सञ्चालन हुनेछ ।