२०८२ असोज ७, मङ्गलवार , ०४:२८:४२ बजे

Sajhamanch
'

मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा पहिरोको जोखिम कायमै

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै बाटो एकतर्फी खुलेको छ । तर तुइन खोला आसपासको क्षेत्रमा पहिरोको जोखिम भने कायमै छ ।

माथिबाट ढुङ्गा झर्ने क्रम रोकिएको छैन । लेन अनुशासनको पालना गरी सजग भएर यात्रा गर्न यात्रु र चालकलाई सडक डिभिजन कार्यालय भरतपुर चितवनले आग्रह गरेको छ ।

यस्तै मुग्लिन–नागढुङ्गा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ । गाडी रोकिँदा यात्रु र चालकको बिचल्ली भएको छ । बेनीघाट नजिकै जवाङ खोलामा ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ ।

यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

काठमाडौं ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले मुख्य चाडपर्वको यो बेला यात्रुले सास्ती पाएका छन् । दशैँ मनाउन घरतर्फ लागेका र काम विशेषले हिँडेका यात्रु बीचबाटोमै अलपत्र पर्ने गरेका छन् ।

सम्बन्धित खबर