
काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौंबाट पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज एक गतेदेखि पाँच गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरूका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।
कार्यालयका अनुसार असोज एक गते ३४ हजार ५५६, असोज दुई गते ३६ हजार १००, असोज तीन गते ४० हजार ५५५, असोज चार गते ३४ हजार ८७९ र असोज पाँच गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
यसवर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो ।