२०८२ असोज ६, सोमवार , १२:४३:१० बजे

Sajhamanch
'

दशैँ शुरु भएसँगै गाउँघर फर्कनेको संख्या बढ्न थाल्यो, गाडीको रुट परमिट खुला

सोमवार, असोज ६, २०८२

काठमाडौं । दशैँ शुरु भएसँगै काठमाण्डौ उपत्यका र अरु शहरबाट गाउँघर फर्कनेको संख्या बढ्न थालेको छ ।

आज दशैँको घटस्थापनासँगै घर फर्कनेको चहलपहल बढेको हो । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैँ बिदा शुरु भैसकेको छ ।

केही कलेज र विद्यालयहरुले भने फूलपातीको अघिल्लो दिनसम्म नै परीक्षा तालिका राखेका छन् । सरकारी कार्यालयहरु पनि फूलपातीदेखि नै बिदा हुन्छ ।

यसैबीच यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि रुट परमिट अर्थात् अनुमति खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी गाडीलाई भने बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आउँदो असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो ।

सम्बन्धित खबर