
काठमाडौँ । यात्रा गर्नुपूर्व आवश्यक सतर्कता अपनाउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
आइतबार विभागले एक सूचना सार्वजनिक गर्दै केही समय मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले आकलन गरेकाले र वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।
विभागले भनेको छ, ‘नेपालीहरूको महान चाड बडा दसैँ, तिहार र छठ जस्ता पर्वहरू नजिकिँदै गरेको र सोही अवसरमा अधिकांश यात्रुहरूले आ–आफ्नो थातथलो गन्तव्यस्थलसम्म जान इच्छुक रहेको अवस्थामा मौसम पूर्वानुमान महशाखाबाट अझ केही समय मनसुन सक्रिय रहने आकलन गरिएको र वर्षाका कारण राजमार्गका कतिपय सडकखण्डहरु अवरुद्ध भएको पाइएकोले यात्रा गर्नुपूर्व आफ्नो गन्तव्य स्थलसम्म पुग्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सम्पूर्ण महानुभावहरूमा अनुरोध छ ।’