
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमी (दशैँ) का लागि विभिन्न देशअनुसार टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको शनिबार बसेको बैठकले सनातन हिन्दू धर्मावलम्बीहरूको मागअनुसार तिथिमिति र स्थानीय समयका आधारमा साइत तय गरेको सदस्य–सचिव लक्ष्मण पन्थीले जानकारी दिनुभयो।
समितिका अध्यक्ष प्रा।डा। माधव भट्टराईका अनुसार नेपालमा असोज १६ गते (अक्टोबर २) बिहान ११ः५३ बजे टीका लगाउने साइत शुभ मानिएको छ। भारतमा सोही दिन बिहान ११ः४९ बजे साइत शुभ रहने छ।
अमेरिकामा न्युयोर्कमा अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कफर्ट केन्टुकीमा ११ः५७, वोवेन्स्वोरो केन्टुकीमा ११ः०५, टेक्ससमा ११ः३३, वासिङटन डिसीमा ११ः३५, क्यालिफोर्नियामा ११ः११ र कोलोराडोमा बिहान ११ः२९ बजे टीका लगाउने शुभ साइत तोकिएको छ।
क्यानडामा टोरन्टोका लागि अक्टोबर १ का दिन बिहान ११ः५५ र भ्यानकुभरमा बिहान ११ः३३ साइत शुभ रहने छ। त्यस्तै जापानको टोकियोमा अक्टोबर २ का दिन बिहान ११ः३१, अष्ट्रेलियाको सिड्नीमा ११ः४३, मेलबर्नमा ११ः१९, ब्रिसबेनमा ११ः५३, एडिलेटमा ११ः३५, क्यानबेरामा ११ः५१, तास्मानियामा ११ः४५, पर्थमा ११ः२५ र डार्बिनमा ११ः४७ बजे साइत शुभ रहेको छ। न्यूजिल्यान्डको बेलिङटनमा बिहान ११ः२३ को साइत तोकिएको छ।
युरोपतर्फ लिस्बन (पोर्चुगल) मा बिहान ९ः२३, लण्डन (बेलायत) मा ९ः१७, पेरिस (फ्रान्स) मा ९ः५७, ओस्लो (नर्वे) मा १०ः०३ र स्वीजरल्याण्डमा बिहान १०ः२५ को साइत शुभ रहेको समितिले जनाएको छ।
त्यस्तै एशियाली देशहरूमा क्वालालम्पुर (मलेशिया) का लागि बिहान ११ः११, अबुधाबी (युएई) का लागि १०ः५५, दोहा (कतार) का लागि १०ः१३, बैंकक (थाइल्याण्ड) का लागि १०ः४५, सियोल (दक्षिण कोरिया) का लागि १०ः५७, तेल अभिभ (इजरायल) का लागि ११ः३५, सिङ्गापुरका लागि ११ः०९, हङकङका लागि ११ः४५, साउदी अरेबियाका लागि १०ः५५, म्यान्माका लागि १०ः२७ र माल्टाका लागि बिहान १०ः५५ बजे साइत शुभ हुने समितिका उपाध्यक्ष प्रा।डा। देवमणि भट्टराईले जानकारी दिनु भएको छ।
समितिले विदेशमा बसोबास गर्ने नेपाली र हिन्दू धर्मावलम्बीहरूलाई स्थानीय समयअनुसार दशैँको टीका लगाउन सहज होस् भन्ने उद्देश्यले यसरी साइत सार्वजनिक गरेको जनाएको छ।