
काठमाडौं । गएको वर्षको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्नेगरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले बाढी पहिरोपछि पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी गाडी सञ्चालन गरेको थियो ।
यसपटकको वर्षामा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै स्रोत साधन तयारी अवस्थामा राखेर खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाइने कार्यालयले जनाएको छ । काभ्रेतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी,मङ्गलटार र माम्तीमा ग्याबिन जालीसहित पर्खाल लगाइएको छ भने विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन् ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै तत्काल हटाउन सडक पुनःनिर्माणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।