२०८२ असोज ५, आइतवार , १०:२५:२७ बजे

Sajhamanch
'

जेनजी आन्दोलनका क्रममा भागेकामध्ये ६ हजार ३२८ कैदीबन्दी फर्किए

आइतवार, असोज ५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये अहिलेसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको जानकारी दिनुभयोे । उहाँका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् ।

गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजी भइरहेको निर्देशक न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९६४ जना भागेका थिए ।

सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका ३४१ जना छन् । आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका झन्डै दुई हजार आरोपीसमेत फरार छन् ।

उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । देशभर ३० हजार ६३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि अहिले झन्डै २२ हजार कैदीबन्दी छन् ।

सम्बन्धित खबर