
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा आगजनी भएको मन्त्रालयले जनाएको छ ।
यस्तै टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवम् चोरी भएको मन्त्रालयले जनाएको छ । तोडफोड र चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा मन्त्रालयले प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयले पनि ल्यापटप, सिसी क्यामेरा, कम्प्युटर, डेस्कटप, मोटरसाइकलमा जडित ब्याट्रीहरूलगायतका सामग्री चोरी भएको जनाएको छ । चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको मन्त्रालयको भनाई छ । मन्त्रालयका जुनकुनै सामग्री लिएको भए तत्काल मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरिएको छ ।