
झापा । ११औं संविधान दिवसको दिन आज शुक्रबार झापाका सबै पालिकाहरुमा नेकपा (एमाले)ले विभिन्न नारा उल्लेखित प्लेकार्डहरु बोकेर मौन र्याली गरेको छ ।
र्यालीमा सहभागीहरूले “संविधानको रक्षा हाम्रो कर्तव्य” “संविधान हाम्रो पहिचान” “संविधान विपरित कुनै सम्झौता मान्य छैन” “सशक्त नागरिक सुरक्षित संविधान” “संविधान नै लोकतन्त्रको आधार” र “संविधान संकटमा देश संकटमा” जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
झापाको बिर्तामोड र मेचीनगरमा नेपाली कांग्रेस र एमालेले नगरस्तरीय संयुक्त कार्यक्रम गरेका छन् ।
मौन र्याली पछि बिर्तामोडमा आयोजित कोणसभामा तत्कालीन संविधानसभाका सदस्य सुधिरकुमार सिवाकोटी र राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण सिवाकोटीले ७० वर्षको संघर्षपछि प्राप्त नेपालको संविधानको रक्षार्थ जस्तोसुकै बलिदान दिन तयार रहेको बताउनु भयो ।
जेन–जी प्रदर्शनको नाममा भदौ २३ र २४ गते भएको हिंसाले ६ दर्जन मानिसले ज्यान गुमाएको र ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु, राज्यका तीनवटै अंगका मुख्य प्रशासनिक भवनहरु आगजनी गरी महत्वपूर्ण दस्तावेजहरु खरानी पारिएकोमा उहाँहरुले दुःख ब्यक्त गर्नुभएको थियो ।
त्यही आन्दोलनको पृष्ठभूमिमा जननिर्वाचित सरकारलाई हटाएर विदेशीको इशारामा बनाइएको काम चलाउ सरकारलाई निर्वाचन बाहेक अन्य कुनैपनि काम नगर्न वक्ताहरुले चेतावनी दिनुभएको छ ।
नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले गर्नुभएको थियो ।
जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गर’
नेकपा एमाले र नेपाली कांग्रेसले आज काँकरभिट्टा बजारमा संविधान दिवस संयुक्त रुपमा मनाएका हुन् ।
मौन जुलुसपछि लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित संयुक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाले जेन–जी पुस्ताले गरेको सामाजिक सञ्जाल, भ्रष्टाचार र सुशासनको आन्दोलन जायज रहेको बताउनु भयाृ ।
जेन–जीको आन्दोलनमा अराजक तत्वहरुको घुसपैठबाट भएका सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी र लुटपाटको सरकारले तत्काल छानविन गर्नुपर्ने उहाँको माग छ ।
यदि यो सरकारले अराजक समूहलाई जोगाउँन लाग्छ भने त्यसको विरुद्ध हामी सबै एकजुट भएर लाग्नुपर्ने कोइरालाको चेतावनी छ ।
‘पार्टी पुनर्गठनको माग पनि आइरहेको छ’, एमाले केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो– ‘यस्तो बेलामा पार्टी र हामीले केही कुराहरुलाई सच्याएर अघि बढ्नु पर्छ । धेरै शहीदहरुको बलिदानबाट आएको संविधानको रक्षा गर्नुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले सामज सेवा गर्नु गलत हो भन्ने जिज्ञासा राख्दै यदि हो भने लोकतन्त्रमा त्यसको हिसाब किताब हुने बताउाु भयो ।
उहाँले भन्नुभयो– ‘जेन–जीको नाममा घुसपैठ भएको छ । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु ठिक भएन । यसको यथासक्य छिटो छानविन हुनुपर्छ । कानुनी राज्य मान्छौँ । संविधानलाई कसैले खेलबाड पनि गर्न हुँदैन ।’
दलहरुले जेन–जी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
एमाले र कांग्रेस मेचीनगरले आयोजना गरेको कार्यक्रमको सहजीकरण एमाले क्षेत्रीय सचिव राजु पोखरेलले गर्नुभएको थियो ।
यता नेकपा एमाले शिवसताक्षी नगर कमिटीले मौन र्याली निकालेको छ । दूधे बजार परिक्रमा गर्दै संविधानको रक्षाका लागि जनचेतना जगाएको थियो ।
र्यालीपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद राधाकृष्ण खनालले हालैको जेन–जी आन्दोलन पछि संविधानको मर्म र भावना विपरीत सरकार गठन भएको दाबी गर्नुभयो ।
जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध अघि सारेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न शक्ति घुसपैठ गराइएपछि परिस्थितिलाई अस्वस्थ ढंगले मोडिएको र त्यसपछि संविधान सम्मत अभ्यासलाई कमजोर तुल्याउने कार्य भएको सांसद खनालको जिकिर थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रोशन थोप्राले नेपालीको भावना अनुरुप बनेको संविधानलाई ओझेलमा पार्ने काम भएकोे बताउनु भयो ।
संविधान सभाको चुनावबाट निर्माण गरेको संविधान सबै जात जाति, भाषा, धर्मवालम्बीहरुको साझा संविधानको रुपमा रहेको छ । यस्तो सर्वमान्य संविधान संकटमा परेको र यस्तो अवस्थामा विदेशी शक्तिहरुले नेपाललाई अस्थिर बनाउन अनेकन प्रयास गरिरहेको नगरप्रमुख थोप्राको भनाई छ ।
सोही सन्दर्भमा नेकपा एमाले कमल गाउँ कमिटीले पनि प्लेकार्डसहित मौन जुलुस निकालेको छ ।
केर्खा बजारमा पार्टीका स्थानीयदेखि केन्द्रीय नेताहरूको उपस्थितिमा संविधान दिवस मनाइएको हो ।
कोणसभामा पार्टीका केन्द्रीय सदस्य दिपक कार्कीले संविधानको ऐतिहासिक महत्वबारे धारणा राख्दै यो संविधान जनताको बलिदानीपूर्ण संघर्षको जगमा निर्माण भएको बताउनु भयो ।
‘नेपाली जनताको दीर्घसंघर्ष, बलिदान र लोकतान्त्रिक आन्दोलनको फलस्वरूप प्राप्त संविधान विश्वकै इतिहासमा अब्बल छ’ एमाले केन्द्रीय सदस्य कार्कीले भन्नुभयो, ‘यो संविधानलाई जनप्रतिनिधिहरुले नै लेखेका हुन्, त्यसैले यसको ऐतिहासिकता र गरिमा असाधारण छ ।’
यस्तै, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले संविधानलाई जनताद्वारा निर्वाचित संविधानसभाले निर्माण गरेको हुँदा यसको वैधानिकता र जनाधार अन्य मुलुकका संविधान भन्दा प्रष्ट भएको बताउनु भयो ।
र्यालीमा सहभागीहरुले हालैको आन्दोलनका क्रममा कांग्रेस र एमाले नेता कार्यकर्ताको निजी सम्पत्ति छानीछानी तोडफोड र आगजनी गरिएको घटनाप्रति आपत्ति जनाएका थिए ।
बिर्तामोडको भिडियो लिङ्क पनि :
https://www.facebook.com/share/v/1FDbsrspyd/