२०८२ कार्तिक ११, सोमवार , ०४:५८:४१ बजे

Sajhamanch
'

झापामा बजार पुर्याउन नपाउँदा बगानमै केरा नष्ट

बिहिवार, असोज २, २०८२

झापा । जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ ।

भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती गर्नुभएका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु. २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताउनुभयो ।

“बजारमा लैजाने तयारी हुँदै थियो, प्रदर्शन सुरु भइहाल्यो,” खड्काले भन्नुभयो, “बन्दका कारण उत्पादनलाई बजार पुर्‍याउन पाइएन । बगानमै खेर गयो ।”

यसपाली उत्पादन राम्रो भएपनि बजार पुर्‍याउन नपाएको उहाँको गुनासो छ । जेनजी प्रदर्शन सकिएतापनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले बगानमा पाकेका केरा ठूलो परिमाणमा नष्ट हुने जोखिम बढेको उहाँ बताउनुहुन्छ ।

यहाँ उत्पादित केरा काठमाडौँ, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धरान, इलामलगायतका जिल्ला बाहिरका सहर बजारमा बिक्रीका लागि पुर्याउने गरिएको छ । किसानले प्रतिघरी केरा (एउटा बोट) रु. ५०० देखि ६०० सम्ममा बिक्री गर्दै आएका छन् । तर, भारतबाट सस्तो मूल्यमा भित्रिने केराले नेपाली बजारमा स्वदेशी उत्पादनलाई चुनौती थपिएको किसानको गुनासो छ ।

कनकाई–३ र शिवसताक्षी–७ मा ७० बिघाह क्षेत्रफलमा चिनीचम्पा र मद्रासी जातको केराखेती गरिरहनु भएका बेनु पराजुलीले गत वैशाखमा हावाहुरीले पुर्याएको क्षतिको चोट नथाक्दै विषम् राजनीतिक परिस्थितिले २०० घरी पाकेको केरा बगानमै नष्ट भएको बताउनुभयो ।

“वैशाखमा हावाहुरीले आधाजसो बगानमा क्षति पुर्‍यायो, अहिले बजार र यातायात बन्दले,” पराजुलीले भन्नुभयो, “पाकिसकेको उत्पादन तत्कालै बजारमा पुर्‍याउनु पर्ने बाध्यता छ । स्टोर गर्ने कोल्डसेन्टर छैन । अब दसैँमा नयाँ उत्पादन लैजाने तयारी गरिरहेका छौँ ।”

झापा गाउँपालिका–३, ४, ६ र ७ मा ३० बिघाह केराको व्यवसायिक खेती गर्दै आउनुभएका चन्द्र बस्नेतको जेनजी प्रदर्शनकाक्रममा रु. १० लाख बराबरको क्षति भएको छ । उहाँका अनुसार प्रदर्शनकारीले बगानभित्रै पसेर केरा काटेर नष्ट गरिदिएका थिए ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट जिल्लामा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको बताउनुहुन्छ । जिल्लामा वार्षिक ३८ हजार ८३३ मेट्रिकटन केरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर