२०८२ असोज २, बिहिवार , ०८:१२:५९ बजे

Sajhamanch
'

ओस्कार अवार्डमा नेपालबाट दुई चलचित्रको आवेदन

बिहिवार, असोज २, २०८२

झापा । ९८ औँ संस्करणको एकेडेमी (ओस्कार) अवार्डमा यो वर्षको लागि दुई वटा मात्र नेपाली चलचित्रको आवेदन परेको छ । संयुक्त राज्य अमेरिकाको विश्व प्रसिद्ध ओस्कार अवार्डको यो संस्करण आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ ।

यो अवार्डमा विदेश संस्करणका लागि नेपालबाट मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ र समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यु चोलो’ ले मात्र सहभागिताको लागि आवेदन दिएका छन् ।

आफूहरूले सबैतिर यो अवार्डमा सहभागिताको लागि सूचना पठाएर जानकारी गराएको भए पनि यस पटक निर्धारित समय भित्र दुई वटा नेपाली चलचित्रको मात्र आवेदन परेको छनौट समितिको सदस्य जीवन पराजुलीले राजधानीलाई बताउनु भयो ।

उहाँले यस’दयगत भने, ‘हामीले निकालेको सूचना अनुसार यस पटकको लागि आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्न अञ्जिला र गुन्यु चोलोको मात्र आवेदन पर्‍यो । यदि छनौट टिमलाई उपयुक्त लाग्यो भने यो दुई मध्य एकलाई ओस्कार अवार्डमा पठाउने छौँ ।’

छनौट टिमलाई यी दुवै चलचित्र उपयुक्त नलागेको खण्डमा कुनैलाई पनि नपठाउने पनि पराजुलीले बताउनु भयो । ओस्कारका लागि नेपाली चलचित्र चयन समितिको संयोजकमा निर्देशक विमल अधिकारी छन् । यो समितिको सदस्यहरुमा मञ्जु कुमार श्रेष्ठ, लोकेन्द्र पराजुली (कपिल), गौतम धिमाल, जीवन पराजुली र चिरञ्जीवी गुरागाईँ छन् ।

यो समितिको अब बस्ने बैठकले दुवै चलचित्र हेर्ने छ । उपयुक्त लागेको खण्डमा एउटा चलचित्रलाई चयन गरेर सेप्टेम्बर महिना भरीमा ९८ औँ संस्करणको एकेडेमी (ओस्कार) अवार्डका लागि नेपालबाट आधिकारिक रूपमा पठाउने छ ।

यी दुई चलचित्र मध्य मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ गत वर्षको व्यावसायिक सफल चलचित्र हो । यो चलचित्रले सफल प्रदर्शनीको १०० दिन समेत मनाएको थियो ।

नेपाली फुटबल टिमकी राष्ट्रिय गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा यो चलचित्र आधारित थियो । जसमा एन्जिलासँगै दयाहाङ राई, विजय बराल, सृजना सुब्बालगायतको मुख्य भूमिका थियो ।

यस्तै गत साता रिलिज भएको चलचित्र ‘गुन्यु चोलो’ बक्स अफिसमा असफल भएको छ । यो चलचित्र तेस्रो लिंगीको संघर्ष कथामा आधारित छ । ओस्कारकै लागि लक्षित गरेर यो चलचित्र प्रचार प्रसार बिना नै गत साता रिलिज गरिएको छ । रिलिज नभएको चलचित्रले ओस्कारमा भाग लिन नपाउने प्रावधान रहेको छ । यो चलचित्रमा नाजिर हुसेन, विशाल पहारी, हिउँवाला गौतमलगायतको अभिनय छ ।

सम्बन्धित खबर