२०८२ असोज २, बिहिवार , ०२:३०:५१ बजे

Sajhamanch
'

बाढी पहिरोका कारण १८ वटा सडक पूर्णरूपमा अवरुद्ध, १६७ एकतर्फी चालु

बिहिवार, असोज २, २०८२

काठमाडौँ । अविरल वर्षाका कारण देशका १८ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । १६७ स्थानमा सडक एकतर्फी रूपमा चालू रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार शनिबार यता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण ७ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् ।

दर्जनौँ सडक अवरुद्ध भए पनि तत्काल मर्मत गरी सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । बाँकी ७ सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको समेत विभागले जनाएको छ ।

आइतबारदेखि म्याग्दीको काभ्रे भीरमा, गुल्मीको राक्सेमा र बागलुङको बेलबगरमा सडक अवरुद्ध छ । तानसेन रिडी–कोरला सडक खण्ड अन्तर्गत पर्ने त्यो सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो ।

यस्तै पहिरोका कारण बैतडीको झुलाघाटस्थित मध्य पहाडी राजमार्ग र दार्चुलाको रानिबासस्थित दार्चुला टिंकर सडक पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै अर्घाखाँचीको निगाली देउरालीमा पहिरोका कारण बुर्तीवाङ–ढोरपाटन सडक र ओखलढुङ्गाको भडारे खोलामा पहिरो जाँदा मध्य पहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको जनाइएको छ ।

यसैगरी बाढीका कारण रसुवाको टिमुरे तातोपानीमा मितेरी पुल बगाउँदा र स्याउ पार्किङमा सडकमा क्षति हुँदा स्याफ्रुबेँसी –रसुवागढी सडक दुई महिना (असार २४) यता पूर्ण रूपमा अवरुद्ध छ ।

त्यस्तै हुम्लाको पैमा खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग एक महिनादेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । संखुवासभागको बरुण नदीले डाइभर्सन बगाउँदा दुई महिनादेखि कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम किमाथांका सडक, ताप्लेजुङको फक्ताङ्लुङको रानी बेलीब्रिज बगाउँदा दुई महिनादेखि तमोर करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।

उता, पश्चिम रुकुमको रिजगाड उसुम खोला र छलगाड भन्ने स्थानमा पहिरो जाँदा भेरि करिडोर, रोल्पाको पुतलाचौर ग्राम्जिममा पहिरो जाँदा शहिदमार्ग, दैलेखको बागडुल्लामा पहिरोले जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध छ ।

यस्तै सङ्खुवासभाको अल्फटेमा पनि सडक अवरुद्ध छ । साथै पहिरोका कारण सिन्धुपाल्चोकको कोदारी र घट्टेखोला नजिक डेढ महिनादेखि अरनिको राजमार्ग अवरुद्ध छ ।

त्यस्तै अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाउने कार्य भइरहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर