
काठमाडौं । काठमाडौंको गोङ्गबुमा रहेको नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । दशैँ पर्व शुरू नहुँदै नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । ‘जेन–जी’ प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका क्याम्पस बिदा भएका विद्यार्थीहरू गृहजिल्ला जान थालेका हुन् ।
नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बताउनुभयो । उहाँका अनुसार यसअघि दैनिक ४ देखि ५ हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले यो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको छ ।
आन्दोलन रोकिएर गाडी चल्न थालेपछि मात्रै ६५ हजार जनाभन्दा धेरै यात्रु नयाँ बसपार्क हुँदै बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यस वर्ष दशैँमा गृहजिल्ला जाने यात्रुको सङ्ख्या घट्न सक्ने बताउनुभयो ।
सरकारले दशैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गतेदेखि असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । तर व्यवसायीले यस वर्ष दशैँका लागि अग्रिम टिकट नखोल्ने भएका छन् ।