
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका गाडीलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
जलेका गाडीका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथाशक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका गाडी यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरूलाई तत्काल हटाएर व्यवस्थापन गरौँ’, मन्त्री घिसिङले भन्नुभएको छ ।
मन्त्री घिसिङले विनाशबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङ्गरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका गाडी तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभयो ।
उहाँले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण शुरू गरिने स्पष्ट गर्नुभयो ।
यसैबीच शहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम शुरू गरिसकेको जनाएको छ ।