
काठमाडौं । जेन–जी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र उपलब्धताबारे चासो भइरहेका बेला सरकारले आपूर्ति प्रणाली चुस्त रहेको र उपभोग्य वस्तुको अभाव नरहेको जनाएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजेश ज्ञवालीले बजारको अवस्थालाई ध्यानमा राखेर निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त छ । चिनी, दाल, चामल, तेल, नुनलगायत अत्यावश्यक बस्तु पर्याप्त छ ।
विभागले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन सक्ने भएकाले अनुगमनको तयारी गरेको छ । त्यस्ता खालका अवाञ्छित गतिविधि भएको देखिए वा पाइएमा कारबाही गरिने महानिर्देशक ज्ञवालीले बताउनुभयो ।