
काभ्रेपलाञ्चोक । सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदी मध्ये २५४ जना कैदी कारागार फर्किएका छन् ।
गत २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये २५४ जना फर्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
केही कैदीलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो । सिन्धुली कारागारबाट फरार भएका मध्ये २ जना काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सुवेदीका अनुसार फरार भएकामध्ये धेरैजसो आफैं उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याइएको जानकारी दिनुभयो । बाँकी कैदीहरूको खोजी कार्य अझै जारी छ ।
फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण भाग्न बाध्य भएको बताउनु भएको छ । कारागार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरारलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्यलाई प्राथमिकतामा राखिएको कारागार स्रोतले जनाएको छ ।