२०८२ भदौ ३१, मङ्गलवार , ०२:१२:०२ बजे

Sajhamanch
'

जनता भड्काउनेमा दाजुभाइ नै संलग्न

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । २४ भदौमा काठमाडौँ उपत्यकासहित देशभर विध्वंश मच्चियो । विध्वंसकारीले सरकारी तथा निजी भौतिक संरचना कब्जामा लिई लुटपाट,तोडफोड र आगजनी गरे । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित अधिकांश सरकारी भवन खरानी भए ।

आन्दोलनका नाममा निजी स्वार्थका लागि प्रतिशोध साँध्ने काम भयो । कैदीबन्दीलाई जेलबाट निकाल्ने, भाटभटेनी लुट्नेदेखि आफूलाई रिस उठेका व्यक्तिको घरमा आगो झोस्दै हिँड्ने तहमा अराजकता फैलियो ।

यही मेसोमा केही व्यक्तिले सिंहदरबारभित्र रहेको देशकै पहिलो प्रशारण सेवा रेडियो नेपाल कब्जामा लिएका थिए । देश जलिरहेको संवेदनशील घडीमा रेडियो नेपालकै पूर्वकर्मचारी हरिशरण लामिछानेले यस्तो कुकर्म गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेका सहोदर दाजु हुन् उनी । रेडियोका एकजना बहालवाला कर्मचारीसँग मिलेर उनले प्रशारण कब्जामा लिएको बताइएको छ ।

बुझिएअनुसार हरिशरणले राजेन्द्रविक्रम शाहीको इमान्दारितालाई दुरुपयोग गरे । राजावादी भनी चिनिएका उनी बेलुकीको सिफ्टमा समाचार भन्ने करारका कर्मचारी हुन् ।

पहिले रेडियो नेपालमा स्थायी जागिरे उनी पछि एनटिसीमा गएका थिए । अहिले करार वा सिफ्टबेसमा काम गरिरहेको एक कर्मचारीले बताए ।

हरिशरण भने ३० वर्ष जागिर गरेर सबै सुविधा लिई रिटायर्ड भएका हुन् । अवकाशपछि पनि नियमितजस्तो रेडियो नेपाल गैरहन्थे । सो दिन साँझ साढे पाँच बजेदेखि झण्डै २० मिनेट प्रशारण नियन्त्रणमा लिएर उनले आफूखुशी भाषण छाँटेको प्रमाण भेटिएको छ ।

स्मरणीय छ, यता दाजु हरिशरणले सरकारी प्रशारण कब्जामा लिएर आन्दोलनकारीलाई उक्साउनुअघि भाइ रवि नख्खु जेलबाट नक्कली पत्र बनाएर फरार भैसकेका थिए ।

सम्बन्धित खबर