
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी र बागमती प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा निकै ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
आज बिहानको मापन अनुसार कोशी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र नारायणी नदीका सहायक नदीहरूको बहाव सतर्कता आसपास रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज चितवन, स्याङ्जा, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, रूकुम पश्चिम, रोल्पा, जाजरकोट, डडेलधुरा, बझाङ, डोटी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव बढ्न सक्नेछ ।
साथै ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, पर्वत, बागलुङ, तनहुँ, कास्की, गुल्मी, रुकुम पूर्व, सुर्खेत, बैतडी, कैलाली र आसपासका जिल्ला भई बहने नदी, खोलामा पनि आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।