२०८२ भदौ ३०, सोमवार , ०८:०६:५६ बजे

Sajhamanch
'

शिवसताक्षी र हल्दिबारी सार्वजनिक सम्पत्तीमा आगजनी र तोडफोडबाट तुलनात्मक रूपमा बच्यो

आइतवार, भदौ २९, २०८२

झापा । जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको अनाधिकृत घुसपैठबाट देशभरका धेरै सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरिए पनि झापाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका तुलनात्मक रूपमा सुरक्षित रहे । ती दुवै पालिका क्षेत्रका सार्वजनिक सम्पत्ति, कार्यालय र निजी भौतिक संरचनामा ठूलो क्षति हुन नदिइएको हो ।

भदौ २४ गते आन्दोलनकारीले शिवसताक्षी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे पनि संयमता अपनाएका थिए । उनीहरुले कार्यालयभित्र राखिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर मात्र बाहिर ल्याएर जलाएका थिए ।

शिवसताक्षी नगरपालिकाका ११ वटा वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६ र ७ को कार्यालय तोडफोड भएको छ । ती वडामा राखिएका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, एसी, सीसी क्यामेरा लगायतका उपकरण क्षतिग्रस्त भएका छन् । यस्तै वडाका झ्यालका सिसा ढुंगामुढा गरी फुटाइएको छ । अन्य वडामा भने सामान्य क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको घरमा पनि आन्दोलनकारीले तोडफोड गरेका थिए।

विशेषतः झिलझिलेस्थित इलाका प्रहरी कार्यालयलाई आन्दोलनकारीले नै सुरक्षा दिए । स्थानीय जेनजी युवाले बाहिरबाट आएका केही समूहलाई रोक्दै प्रहरी चौकीमा क्षति पुर्‍याउन नदिएको बताइएको छ ।

उनीहरूले “सार्वजनिक सम्पत्ति हाम्रो हो, यसलाई हामीले नै जोगाउनुपर्छ” भन्दै रातभर आफैं गस्तीसमेत गरेका थिए ।

नगरपालिका कार्यालयको टोलीले आइतबारदेखि सबै वडामा क्षति भएका विवरण संकलन गर्न सुरु गरेको छ । शिवसताक्षीमा नगरपालिका कार्याल र सवै वडाहरुले आइतबारबाट नै सेवा दिन सुरु गरेको जनाइएको छ ।

जिल्लाको मध्य दक्षिणी हल्दिबारी गाउँपालिकाको कुनै सार्वजनिक तथा निजी सम्पत्तीमा क्षति हुन नदिइएको पालिका अध्यक्ष रविन्द्र लिङ्देन बताउँछन् । व्यक्तिले गरेको गल्ती, कमजोरी वा बद्मासीको दण्ड सार्वजनिक भौतिक सम्पत्ती माथि तोडफोड र आगजनी गरेर हुनुहुँदैन भनी सूचना गरे पछि नागरिकहरुले सचेतता अपनाएका उनको भनाई छ ।

‘हल्दिबारी प्रवेश गर्ने सबै नाकामा स्थानीय बासिन्दा तैनाथ थिए, कुनै पनि गौंडामा आन्दोलनकारी देखिँदा उनीहरुलाई सम्झाएर फिर्ता पठाइएकै कारण हल्दिबारी जोगियो’ पालिका अध्यक्ष लिङ्देनको दावी छ ।

यसबीच, बिर्तामोड, दमक, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, गौरादह लगायतका नगरपालिकामा आन्दोलन हिंसात्मक बनेको थियो ।

नगरपालिकाको कार्यालयदेखि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र विभिन्न दलका नेताहरूका घर तथा पार्टी कार्यालयमा समेत आगजनी हुँदा अर्बौंको धनमाल कागजपत्र क्षति भएको छ ।