२०८२ भदौ २९, आइतवार , ०५:२२:४६ बजे

Sajhamanch
'

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

आइतवार, भदौ २९, २०८२

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ ।

मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पुरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ ।

स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।’

भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताउनु भयो ।

हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कर्मचारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् ।

उहाँका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबर