
काठमाडौं । सर्वोच्च अदालतले खण्डहर भवन परिसरबाटै न्याय सम्पादनको कार्य शुरू गरेको छ । ‘जेन–जी’ आन्दोलनका क्रममा गएको मङ्गलवार तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालतले खण्डहर भएको भवनको आँगनमा पाल टाँगेर सेवा शुरू गरेको हो ।
सर्वोच्च अदालतले आजदेखि बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ शुरू गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जलेका भवनहरूको निरीक्षणपछि कामको तयारीबारेमा ब्रिफिङ लिनुभएको थियो ।
सर्वोच्च आदलतको आँगनमै जलेका गाडीको थुप्रो छ । प्रदर्शनकारीले न्याय परिषद् रहेको भवनमा कम मात्र क्षति पुर्याएकाले त्यहाँ न्यायाधीशहरूको चेम्बरदेखि इजलास बनाउने तयारी भइरहेको छ ।
अदालत परिसरमा कर्मचारीसहित सर्वसाधरणको पनि भीड लागेको थियो । सर्वोच्च अदालत पुगेका सेवाग्राहीलाई अब सर्वोच्चको इजलास र भवनको टुङ्गोगो लागेर सुनुवाइ शुरू भएपछि अदालतले नै खबर गर्ने भनी उनीहरूको सम्पर्क नम्बर पनि टिपेर राखेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।