
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा जिल्ला कमिटीले भदौ २३ र २४ गते देशभरि भएका आन्दोलनका क्रममा झापामा पार्टी कार्यालय, नेताहरुका घर तथा विभिन्न सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति गहिरो चिन्ता प्रकट गरेको छ ।
पार्टी अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षर गरी जारी ३ पेजको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनको क्रममा घुसपैठका कारण अराजक अवस्था सिर्जना भई अन्धाधुन्ध गोली चल्दा भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ । एमालेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्था गर्न राज्यसँग माग पनि गरेको छ ।
झापाका विभिन्न स्थानीय तहका १३ वटा पालिका, सयौँ वडाकार्यालय, सहकारी संस्था, व्यापारिक प्रतिष्ठान, शहीद सुखानी प्रतिष्ठान, सडक, शालिक तथा निजी घरहरूमा समेत ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । दमक, मेचीनगर, गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर, शिवसताक्षी, बुद्धशान्ती, गौरीगञ्ज र झापा गाउँपालिकाका जनप्रतिनिधि तथा नेताहरुका घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको विवरण विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी एमालेले सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत, अख्तियार, राष्ट्र बैंकलगायत संघीय संरचनामाथि भएको आक्रमण, तोडफोड र लुटपाटलाई “राष्ट्रका ऐतिहासिक, सांस्कृतिक, न्यायिक र वित्तीय संरचनामाथिको गम्भीर आक्रमण” भनेको छ ।
जिल्ला कमिटीले यी घटनालाई योजनाबद्ध भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । साथै तोडफोड र आगजनीबाट प्रभावित सरकारी कार्यालय तथा निजी सम्पत्तिको तत्काल पुनर्निर्माण र क्षतिपूर्ति दिन राज्यलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी अडानलाई कारण देखाउँदै बाह्य शक्तिको इसारामा देशलाई संवैधानिक संकटतर्फ धकेल्ने प्रयास भएको दाबी गरेको छ । विज्ञप्तिमा लोकतान्त्रिक शक्तिहरूबीच सुदृढ एकता आवश्यक रहेको उल्लेख गर्दै संविधानको पालना, लोकतन्त्रको संरक्षण, भ्रष्टाचारमुक्त शासन र समाजवादतर्फको यात्रामा सबैलाई अघि बढ्न आग्रह गरिएको छ ।