
काठमाडौं । नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे शुरु हुनेछ । खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली अस्ति बुधवार नै नेपाल आइसकेको छ ।
बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीमा रहेको नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलमा रहेको च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिनुभयो । खेलका लागि भिआइपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । दुवै खेलको समग्र विजेतलाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ ।
यदी दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ । प्रतियोगिता सञ्चालनका लागि झन्डै एक करोड २७ लाख ५८ हजार १६८ रुपैयाँ खर्च लाग्ने एन्फाले जनाएको छ ।
यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशाला सुरक्षित रहेको र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको बताएको छ । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एएफसीको कम्पिटसन डिपार्टमेन्टले तय गरेको नियम पूरा नहुँदा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताउनुभयो ।