२०८२ असोज ३, शुक्रवार , ०३:५७:५८ बजे

Sajhamanch
'

युवाको उमेर अब १८ देखि ३५ वर्ष

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ । सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८ देखि ३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताउनुभयो । बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ वर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ । हरेक ५/५ वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भए पनि सरकारले १० वर्षपछि नीति संशोधन गरेको हो ।

सम्बन्धित खबर