२०८३ वैशाख ६ आइतवार , ०६:५४:१३ बजे

Sajhamanch
'

सिस्ने खोलामा अस्थायी काठेपुल निर्माण

सोमवार, भदौ ९, २०८२

ताप्लेजुङ । ताप्लेजुङको फुरुम्बु र लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण गरिएको छ। फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम जोड्ने गरी सिस्ने खोलामा अस्थायी काठेपुल निर्माण गरिएको हो।

लिङ्खिमका स्थानीय युवा क्षितिज लिम्बू, उमेश लिम्बू, सरोज लिम्बू, विशाल लिम्बू र फुरुम्बुका कमल लेछर्बो, इन्द्र लेछर्बो लिम्बू लगायतको अगुवाइमा श्रमदानमार्फत आइतबार सो काठेपुल निर्माण गरिएको हो। मानिस आउजाउ गर्ने र मोटरसाइकलसमेत गुडाउन मिल्नेगरी काठेपुल निर्माण गरिएको क्षितिज लिम्बूले जानकारी दिनुभयो।

उहाँका अनुसार काठेपुल निर्माणका लागि हाल दक्षिण अफ्रिकामा रहनुभएका जीवन काङ्भा र रमेश माङ्युङ लिम्बूले १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। काङ्भा तथा माङ्युङले उपलब्ध गराउनुभएको आर्थिक सहायताले काठेपुल निर्माणका लागि आवश्यक काठ र काँटी खरिद गरिएको लिम्बूले जानकारी दिनुभयो।

यता सिस्ने खोलामा सो काठेपुल निर्माण गरिएसँगै सदरमुकाम फुङ्लिङदेखि फुरुम्बु लिङ्खिम हुँदै फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न ठाउँमा आउजाउ गर्नका लागि सहज भएको छ। पैदल यात्रुका साथै मोटरसाइकलमा यात्रा गर्ने यात्रुलाई यात्रा गर्न सहज भएको स्थानीयले बताएका छन्।

काठेपुल निर्माण गर्न करिव २५ जना युवाले श्रमदान गरेका बताइएको छ। यसअघि गत साउन ३० गते सोही ठाउँमा जोखिम अवस्थामा रहेको काठको फड्के तर्ने क्रममा फुरुम्बुका एक आमा छोरी अचानक चिप्लिएर खोलामा खसेका र दुई वर्षीया छोरी बालिकाको मृत्यु भएको थियो। आमा भने खोलाबाट निस्कन सकेका कारण बाँच्न सफल हुनुभएको थियो।

सम्बन्धित खबर