
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।
साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।