
सिन्धुलीमाढी । सिन्धुली जिल्लामा बर्खाका लागेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । दूषित पानी र खानपानका कारण ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगका बिरामी बढेका हुन् ।
बर्खाको मौसम सुरु हुनु अघि उपचारका लागि दैनिक तीन सयको हाराहारामीमा अस्पताल आउने गरेकोमा पाँच सयसम्म पुग्ने गरेको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. अभिषेक थपलियाले बिरामी बढ्नुको कारण ‘सिज्नल फ्लु’ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बिरामी दैनिक ओपिडीमा चारदेखि पाँच सय जनासम्म र इमर्जेन्सीमा ४० देखि ५० जनासम्म आइरहेका छन् ।’ धेरै जसो बिरामी ज्वरो, टाइफाइड, झाडापखाला, दम रोगका रहेका पनि उहाँले बताउनुभयो ।
मेसु थपलियाका अनुसार सिन्धुली अस्पतालमा विभिन्न रोगको सल्यक्रिया गर्ने क्रम पनि बढेको छ । विगतका दिनमा शल्यक्रिया गर्न राजधानी काठमाडौं र अन्यत्र जाने बिरामी पनि सिन्धुली अस्पतालमा आउन थालेकाले बिरामीको सङ्ख्या बढेको हो । सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ ले विगत केही वर्षदेखि विशेषज्ञ चिकित्सा सेवा सुरु गरेसँगै बिरामीको आकर्षण बढेको छ ।
कमलामाई नगरपालिका–६ निवासी शिक्षक ध्रुव पहाडी झाडापखालाका कारण दुई दिनअघि अस्पतालमा भर्ना भइ उपचार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खै, खानपान नमिलेर त होला ? झाडापखाला भएको । भर्ना भएर उपचार गरिरहेको छु ।’
५० शय्याबाट क्षमता विस्तार गरी एक सय शय्या बनाइएको सिन्धुली अस्पतालमा ११ जना विशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सक, नौ जना मेडिकल अधिकृतको दरबन्दी छ ।
पाँच वर्षअघिसम्म बिरामीहरुलाई सेवा प्रवाह गरिरहेको जीर्ण पुरानो भवन भत्काई त्यही ठाउँमा अहिले चार वटा ब्लकमा अपाङ्गमैत्री (लिफ्ट) सहितको सुविधासम्पन्न आधुनिक अढाई तले भवन निर्माण गरिए पनि त्यसले १०० बेडको क्षमता धान्न सक्ने अवस्था नभएको अस्पतालले जनाएको छ ।
त्यस्तै राष्ट्रिय विमा बोर्डले सिन्धुली अस्पताललाई बिमाको रकम समयमै भुक्तानी नगर्दा उक्त अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट बिरामीले निःशुल्क पाउने औषधी पाउन सकिरहेका छैनन् ।
राष्ट्रिय बिमा बोर्डले सिन्धुली अस्पताललाई दिनुपर्ने गतवर्ष भदौदेखि हालसम्मको बिमाको रकम करिब सात करोड रुपियाँ भुक्तानी नगर्दा औषधी खरिद गर्न नसक्दा उक्त समस्या आएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालले बिमा बोर्डले गत वर्ष भदौदेखि नै बिमाको रकम नपठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिमा बोर्डले अस्पताललाई एक लाख जनाभन्दा बढी बिरामीको करिब सात करोड रुपियाँ भुक्तानी दिन बाँकी छ । उक्त रकम नपाउँदा औषधी खरिद गर्न नसक्दा अस्पतालको फार्मेसी रित्तिँदै गएको छ ।’
उहाँका अनुसार स्वास्थ्य बिमा गरेका बिरामीले फार्मेसीबाट ९८ किसिमका औषधी निःशुल्क पाउँदै आएकोमा अहिले अधिकांश औषधी सकिएको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत नै बिमाको रकम भएकाले औषधी किन्न लगायतका सबै कुरा रोकिएको छ ।
अस्पतालमा उपचारका लागि दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी स्वास्थ्य बिमा गरेका बिरामी आउने गरेका छन् । जिल्लामा हालसम्म एक लाख ४३ हजार ३३३ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
अस्पतालको फार्मेसी औषधीको अभावमा रित्तिदै जाँदा बिरामीले सामान्य औषधि समेत बाहिरको औषधी पसलमा खरिद गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । यसअघि दुई(तीन महिनाको फरकमा उक्त रकम आउने गरेकोमा अहिले लामो समयदेखि नआउँदा अस्पतालको दैनिक प्रशासनसमेत प्रभावित भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष ढकालले भन्नुभयो, ‘चिकित्सकलाई इन्सेन्टिभ वापत दिनुपर्ने रकम रोकिएको छ पछि एकमुष्ट पाउनुहुन्छ भनी फकाएर काममा लगाएका छौं ।’