
काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताउनु भएको छ । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उहाँको भनाइ छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भन्नुभयो, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझिदिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।’
उहाँले भन्नुभयो, ‘दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’
केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै उहाँले यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताउनु भयो । यद्यपि संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने उहाँले बताउनु भयो ।
संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताउनु भयो ।
‘अहिले पालिकामा प्राकृतिक स्रोत साधनको वितरण र सीमाको द्वन्द्व छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
द्वन्द्व व्यवस्थापनको विषयमा अध्ययन अध्यापन गर्नेहरु बढेको भन्दै उहाँले यसमा छात्रवृत्ति कोटा बढाउन आफूले पहल गर्ने मन्त्री लेखकले बताउनु भयो ।