
काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन भेटघाटमा व्यस्त हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ हिजो काठमाडौं आउनुभएको हो । सुआनले आज उपराष्ट्रपति यादवसँग प्रतिनिधिमण्डलस्तरीय द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा भएको यो उच्चस्तरको भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली बताउनुहुन्छ ।
नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ । नेपाल र भियतनामबीच अहिलेसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया शुरु गरिएको छ ।
यसलाई निष्कर्षमा पुर्याउन सकेमा दुवै देशबीच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको छ । विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाममार्ग हुँदै कोरिया, जापानलगायत देशका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास छ ।