२०८२ भदौ ८, आइतवार , ०९:५७:२९ बजे

Sajhamanch
'

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

आइतवार, भदौ ८, २०८२

काठमाडौं । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो । अस्ति शुक्रवार राति दर खाएर हिजो दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन थारु समुदायमा छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन छ । उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ ।

यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो । दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि, प्रदेश सरकारले अटवारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो । तर, थारू समुदायको अटवारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको हो ।

सम्बन्धित खबर