
काठमाडौं । सरकारले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यसहित स्वर्णप्राशन थोपा अभियान शुरू गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो । उहाँले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने दाबी गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २० जिल्लाको २५ वटा ठाउँबाट थोपा खुवाउन थालिएको छ । क्रमिक रूपमा देशभर विस्तार गर्ने मन्त्रालयले जनाएको छ ।
झन्डै ५ हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा वर्णन गरिए अनुसार सुनको भष्मलाई घ्यु र महमा मिसाएर बनाएको लेहलाई थोपा स्वरूप खुवाउने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ ।
आधुनिक रासायनिक परीक्षणमा स्वर्णभस्ममा सुन धातुकै स्वरूपमा भेटिने र कणको आकार ३० न्यानोमिटर जति हुने देखिएको विभिन्न वैज्ञानिक शोधपत्रहरूले जनाएका छन् ।
१ न्यानोमिटर भनेको १ मिटरको १ अर्बौं भाग हो । काश्यप संहिता अनुसार यसमा प्रयोग हुने प्रशोधित सुनको भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताउनुभयो । यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ ।
आयुर्वेदिक शास्त्रीय विधिअन्तर्गत यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पुष्य नक्षत्रका दिन दिइन्छ । ज्योतिष शास्त्र अनुसार २७ वटा नक्षत्र रहेकामा पुष्य आठौं नक्षत्र हो । शुभकार्यका लागि उत्तम मानिने यो नक्षत्रलाई पोषणकर्ता, संरक्षक र दयालु मानिन्छ ।