२०८२ भदौ १, आइतवार , १०:२२:१८ बजे

Sajhamanch
'

टप इण्ड टी–२० शृङ्खलामा नेपालको लगातार दोश्रो हार, बङ्गलादेश ‘ए’ २९ रनले विजयी

आइतवार, भदौ १, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको छ । बङ्गलादेश ‘ए’ले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल सात विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।

नेपालका कुशल मल्लले अविजित ५९ रन र आसिफ शेखले २८ रन बनाए । बङ्गलादेश ‘ए’का रकिबुल हसनले तीन, हसन महमुदले दुई तथा तोफेल अहमद र रिपन मण्डलले समान एक विकेट लिए ।

त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ‘ए’ले छ विकेट गुमाएर १८३ रन बनायो । बङ्गलादेशका जिशन आलमले ७३ र अफिफ हुसेनले अविजत ४४ रन बनाए । नेपालका रिजन ढकालले दुई विकेट तथा करन केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपाल आफ्नो पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो । यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न स्टार्ससँग, पर्सि मङ्गलवार होबर्ट हुरिकेन्ससँग, बुधवार मेलबर्न रेनेगेड्ससँग र शुक्रवार अर्थात् भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप इण्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

सम्बन्धित खबर