
झापा । झापाको दमकमा जंगली हात्तीले क्षति गरेको छ । हिजो राति १० बजे दुईवटा हात्तीले चारवटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक–२ बेलडाँगीस्थित वन कार्यालयछेउका चारवटा घरमा हात्तीले क्षति पुर्याएको हो । ११ बजेतिर हात्ती जंगलतर्फ नै लागेका थिए ।
दमक–२ का टंकबहादुर राईको टिनको छाना टाटीले बेरेको घरको बेरा भत्काएर एक बोरा चामल, एक ड्रम जाँड खाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कुलबहादुर चौहानको टिनले बारेको मन्दिर कोठा भत्काएर २० झुत्ता मकै खाएको छ । चन्द्रकला खड्काको टिनको छानो टाटी बेरा भएको भान्साको बेरा भत्काएर एक बोरा चामल, ५ केजी दाल खाएको छ ।
त्यस्तै, राजु लिम्बू र पुष्प खतिवडाको भान्सा घरको टिन भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक क्षेत्रमा नजिकैको वनमा रहेका हात्ती प्रवेश गरेर क्षति गर्ने गरेका छन् ।