२०८२ साउन ११, आइतवार , ०८:३२:४४ बजे

Sajhamanch
'

निष्ठाको पत्रकारिताबाट पनि जीवन बाँच्न सकिन्छ : अग्रज पत्रकार दाहाल

आइतवार, साउन ११, २०८२

झापा । प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी झापाले त्रैमासिक रूपमा सञ्चालन आयोजना गर्दै आएको अग्रजलाई सुनौेको दोस्रो श्रृङखला आज बिर्तामोडमा सम्पन्न भएको छ ।

झापाली पत्रकारितामा पाँच दशकदेखि सक्रिय दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिक र जनज्योति साप्ताहिकका सम्पादक/प्रकाशक गञ्जबहादुर दाहालको पत्रकारिता जीवनका आरोह अवरोह सुनिएको हो ।

वि. सं. २०३२ सालदेखि आजसम्म पत्रकारितामा निरन्तर क्रियाशील ७० वर्षे दाहालको पत्रकारिता यात्रा एवम् विगत र वर्तमानका तीतामिठा अनुभवहरु नयाँ पुस्तालाई बाँड्नु भएको हो । करिब ३० मिनेट आफ्ना अन्तरङ्ग विगत सुनाउनु भएका दाहालले नयाँ पुस्ताका पत्रकारहरुलाई निष्ठाको पत्रकारिताबाटै जीवन जिउँन सकिन्छ भन्ने सन्देश प्रदान गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले कार्यक्रमको अध्यक्षता गर्दै अग्रजलाई सुनौं कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, संगठनका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेले आजको डिजिटल पुस्तालाई पञ्चायतको कालारात्री अनि लेटरप्रेस प्रविधिको पत्रकारिताको जीवन्त इतिहास सुन्न सुनाउन यस्तो कार्यक्रमको परिकल्पना गरेकामा आयोजकलाई धन्यवाद दिनुभयो ।

संगठनका सहसचिव तीलक योञ्जनले सञ्चालन गर्नुभएको अग्रजलाई सुनौं कार्यक्रममा आमन्त्रित एवम् सहभागीहरुलाई उपाध्यक्ष राजु पोखरेलले शाब्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्ज सावित्रा दाहाल, केन्द्रीय सदस्य तथा इलाम इञ्चार्ज शम्भुजित दाहाल, पुर्व केन्द्रीय सदस्य भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष अम्बिका भण्डारी, झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेसहित दर्जनौं पत्रकारहरुको सहभागिता थियो ।

सम्बन्धित खबर