
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटव्युरो बैठकमा उहाँले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माणको काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको हो ।
बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताउनु भयो । उहाँले पार्टीको संगठित सदस्य संख्या १५ प्रतिशतले बढेको जानकारी गराउनु भयो ।
“अहिलेको पार्टी सदस्यता, नविकरण हेर्दा झण्डै १५ प्रतिशत बढेको र तथ्याङ्क आउने क्रम जारी रहेकाले सबै तथ्याङ्क आएपछि सार्वजनिक गर्नेछौ” उहाँले भन्नुभयो, “पार्टी संगठित सदस्य बढेकोमा हामी उत्साही भएका छौ ।”
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको विधान संशोधन प्रस्ताव माथि आज सात जना नेताहरुले आआफ्नो धारणा राख्नु भएको छ ।
लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोल्नु भएको थियो ।
पोलिटव्युरो सदस्यहरुले बोल्ने क्रम नसकिएकोले भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्ने गरी आजको बैठक स्थगन गरिएको छ । बैठक च्यासलस्थित पार्टी कार्यालयमा बस्ने छ ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ ।
यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ ।
यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीनवटा केन्द्रीय संरचना रहने व्यवस्था गरिएको छ ।
विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो ।
बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
जनसङ्गठनमा आवद्ध रहेका सदस्यहरु खारिँदै आएपछि र पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्यता प्रदान गर्ने प्रस्ताव गरिएको छ ।