२०८२ साउन २, शुक्रवार , १०:०९:४० बजे

Sajhamanch
'

बामदेव गौतमको समूह एकीकृत समाजवादीमा समाहित हुँदै

शुक्रवार, साउन २, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको आज एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा एकता घोषणा सभा हुन लागेको हो ।

एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर गर्नुभएको थियो ।

आज हुने एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभएको छ ।

एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको नेताहरुले बताएका छन् ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको नेताहरुले बताएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

सुरुमा नेकपा एमालेमा जान खोजेका बामदेव पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिनु भएको थियो ।

सम्बन्धित खबर