
काठमाडौं । घुस प्रकरणमा मुछिनु भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिनुभएको छ।
अहिले भरखरै बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाउनु भएको हो ।
मन्त्री पदबाट राजीनामा दिएलगत्तै गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना पनि सार्वजनिक गर्नुभएको छ । केही दिनदेखि आफ्नो नाम ‘घुस डिल’सँग जोडेर प्रचार भएको उल्लेख गर्दै उहाँले आफू त्यसकै शिकार बनेको जिकिर गर्नुभएको छ ।
गुप्ताले लेख्नुभएको छ, ‘‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ।’’
उहाँले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको लेख्नु भएको छ । ‘‘अब लागेका आरोप अनुसन्धान गरेर सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु’’ गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेर राजीनामाको पुष्टि गर्नुभएको छ।
गुप्ताले आफू प्रविधिको ‘उच्चतम प्रयोग’को शिकार बनेको दाबी गर्दै अब कोही पनि त्यस्तो शिकार नबुन् भन्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ । ‘‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबुन् भन्ने अपेक्षा गर्दै, आजसम्म विभिन्न रूपमा आफूलाई सहयोग गर्नु हुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु’ गुप्ताले लेख्नुभएको छ ।
साथै, उहाँले पार्टीले दिएको जिम्मेवारीप्रति प्रतिबद्धता दोहोर्याउँदै “अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर–दैलोमा आउने प्रण गर्दछु,” गुप्ताले फेसबुकमा लेख्नुभएको छ।
केही दिनअघि कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्ने र भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष नियुक्ति गरिदिने भन्दै मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि उहाँ चर्को विवादमा मुछिनु भएको थियो ।
पार्टीभित्रैबाट पनि राजीनामा दिन दबाब परेपछि उहाँले पदबाट अलग हुने निर्णय लिएको बताइएको छ । राजीनामा पछि अब यो प्रकरणमा छानबिन अघि बढ्ने विश्वास छ।