
काठमाडौं । मधेशमा कम पानीमै उत्पादन दिन सक्ने धानका जात लगाउन कृषि विज्ञले सुझाव दिएका छन् । मधेशमा कम पानी परेर धान रोपाइँमा ढिलाइ भइरहेको बेला कृषि विज्ञले यस्तो सुझाव दिएका हुन् ।
उज्यालोसँगको कुराकानीमा धानबाली विज्ञ डा.उज्वल कुमार कुसवाहले वर्षा कम हुने ठाउँमा सुक्खा जातका धान उपयुक्त हुने बताउनुभयो ।
उहाँका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि कार्यालयहरूले प्रवर्द्धन गरिरहेका सुक्खा १ देखि सुक्खा ६ जातका धानहरू तीनदेखि चार मेट्रिक टनसम्म उत्पादन दिन सक्ने क्षमता राख्छन् । त्यस्तै, ‘बहुगुनी १’ र ‘बहुगुनी २’ जातका धान पनि थोरै पानीमै राम्रो उत्पादन दिन सक्ने देखिएको छ ।
धानबाली विज्ञ कुसहवाका अनुसार पानी कम परेका ठाउँमा ‘छरुवा धानखेती’ पनि राम्रो विकल्प हो । यसमा खेतमा सीधै बीउ छरिन्छ । यस्तो विधिबाट साढे तीनदेखि चार मेट्रिक टनसम्म उत्पादन हुने अनुसन्धानले देखाएको छ । कम पानीमै फल्न सक्ने घैया प्रजातिका धान पनि विकल्प हुनसक्ने उहाँले बताउनु भयो ।
कम पानीमै उत्पादन दिन सक्ने धानका जात नार्कका क्षेत्रीय कार्यालय तथा कृषि सहकारी संस्थाहरूबाट सहजै पाउन सकिन्छ । यी वैकल्पिक धान जातहरूको उचित व्यवस्थापन गरेमा कम पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ । पानी झनै कम परेका ठाउँमा कोदो पनि उपयोगी विकल्प हुनसक्ने कृषि विज्ञको सुझाव छ ।
अन्न भन्डार मानिने मधेशमा यसवर्ष कम पानी परेपछि किसान चिन्तामा छन् । मधेश प्रदेशमा अहिलेसम्म ३३ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ ।
सिँचाइको अभाव र वर्षा नहुँदा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा धेरै खेत बाँझै छन् । प्रदेश सरकारले अवस्था गम्भीर बन्दै गएपछि मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।