
काठमाडौं । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उहाँलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएको केहीबेरमै उहाँको निधन भएको शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले जानकारी दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारी अनुसार मुटुसम्बन्धी समस्या ‘कार्डियाक अरेस्ट’बाट शर्माको निधन भएको हो ।
शर्मा २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यसअघि उहाँले गोरखापत्र संस्थानबाट प्रकाशित ‘दि राइजिङ नेपाल’मा १३ वर्ष काम गर्नुभएको थियो । उहाँको जन्म २०२३ साल कात्तिकमा भएको हो ।